पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य विष्णु पन्थीले जानकारी दिए ।

‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उनले भने । संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।

तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिए । यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा) ले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार