तुलसीपुरमा कारभित्र मृत भेटिएका बालकहरुको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ

तुलसीपुरमा पार्किङ गरी राखिएको भारतिय नम्बर प्लेटको कारभित्र मृत भेटिएका तीन बालकहरूको पहिचान खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरू तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेका छन् ।

तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए ।

तीनैजना बालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको र १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय बासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडीभित्र उनीहरूको शव भेट्टाएको एसपी चन्दले बताएका छन् ।

उनका अनुसार प्रहरी अनुसन्धानका लागि गाडी मालिक यादव प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए । उनले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनीहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताए ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको एसपी चन्दको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार