वनमा लागेको आगो गाउँ पसेपछि…

वनमा लागेको डढेलोले खोटाङमा घर र मतान जलेका छन् । घर नजिकैको ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलोको झिल्कोले शुक्रबार खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका भिमबहादुर कार्कीको घर र अर्जुन तामाङको मतान जलेका हुन् । कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा एक लाख रुपैयाँ र तामाङको ढुंगामाटोले बनेको फुसको छानो भएको मतान जल्दा करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, अगेनाबाट सल्किएको आगोले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रत्नबहादुर श्रेष्ठको घर जलेको छ । श्रेष्ठको दुई तले घर जल्दा अन्दाजी १ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

गाईवस्तुका लागि खोले पकाउन बालेको आगोले बराहपोखरी गाउँपालिका–५ पौवासेराका प्रदीप राईको मतान र १५ वटा बाख्रा जलेका छन् । बाख्राको खोर र डेराका रुपमा प्रयोग भइरहेको बाँसको टाँटीले बारेको जस्ताको छाना हालिएको मतान र बाख्रा जल्दा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार