एमाले परमादेशबाट जन्मिएको पार्टी हो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले पनि सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएका छन् ।जिल्लाको वाणगंगा नगरपालिकास्थित बैदोलीमा शुक्रबार आयोजित सभामा बोल्दै उनले वर्तमान सरकार परमादेशबाट आएको भन्दै हिंड्ने एमाले स्वयं पनि सर्वोच्चको फैसलाबाट जन्मिएको पार्टी भएको बताएका हुन् । ‘सर्वोच्चले एमालेलाई एमाले र माओवादीलाई माओवादी बनाएको वैधानिक हुने,’ उनले भने, ‘तर, त्यही सर्वोच्च अदालतले फैसला गरेर बनाएको सरकारलाई परमादेशी भनेर होच्याउने कस्तो सोचाइ हो ’

माधव नेपाल र झलनाथ खनालले पार्टीमा विद्रोह नगरेको भए ओलीले अहिलेसम्म गणतन्त्र सिध्याइसक्ने उनले आरोप लगाए । ‘एमालेको पार्टी र पदको झगडाको सिकार नेपाली जनता भए,’ उनले भने, ‘प्रतिगमनविरुद्ध सबै एक हुनुपर्छ भनेर जनमोर्चाले अग्रसरता लिएर सबैलाई एकजुट बनाएको हो ।’

गणतन्त्र सिध्याउन खोज्नेहरू अहिले धर्मनिरपेक्षता हटाउन राजा आऊ देश बचाऊ भनिरहेको उनले बताए । ‘कोरोनाले मुलुक थिलथिलो भइरहेका बेला वामपन्थी भन्ने केपी शर्मा ओलीले पशुपतिमा १ सय ८ किलोको जलहरी किन चढाउनु पर्‍यो ?’ उनले प्रश्न गरे, ‘त्यति महँगो सुन । त्यो पशुपतिको होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूजा हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार