अमृता मृत्यु प्रकरण : प्रहरी र प्रदर्शनकारीबीच झडप

बुधबार राति रुपन्देहीको तिलोत्तमामा मृत्यु भएकी महिलाको विषयलाई लिएर शुक्रबार प्रहरी कार्यालयमै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । तिलोत्तमा–२, जानकीनगर भेटनरी लाइनमा बुधबार राति करिव १० बजे विष सेवनका कारण २९ वर्षीय अमृता खत्रीको मृत्यु भएको हो ।

मृतकका माइती पक्षले आरोपितको घरमा तोडफोड गर्ने, प्रहरी कार्यालय परिसरमा पनि उत्तेजित पार्ने काम भएपछि सुरक्षा संवेदनशीलतालाई हेरेर बल प्रयोग गरी उनीहरुलाई त्यहाँबाट हटाएको हो । मृतक अमृताका दाजु पुस्कल खत्रीका अनुसार अमृता माइतीमा बस्दै आएकी थिइन् । बुधबार साँझ साढे ८ बजेतिर प्रेम टण्डनले अमृतालाई फोन गरेर तत्काल घर आउन भन्दै बोलाएका थिए । तत्कालै घर पुगेकी अमृताले ९ बजेर ३१ मिनेट जाँदा दाजुलाई एसएमएस गरेर ‘यिनीहरुले मलाई मार्छन्, यहाँबाट बाहिर निकाल्नुस्’ भनेको माइती पक्षको दाबी छ ।

मृतकका माइतीपक्षले उनको सुनियोजित हत्या भएको दाबी गरेका छन् । शुक्रबार दिउँसो माइतीपक्षले प्रहरीमा अमृताका पति लगायतविरुद्ध किटानी जाहेरी दिएको छ । बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी ठगबहहादुर केसीका अनुसार माइती पक्षले दिएको किटानी जाहेरी अनुसार मृतकका पति प्रेम टण्डन, ससुरा पहलसिंह टण्डन र सासु दिपा टण्डनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार