बोडेका बुद्धकृष्णले छेडे जिब्रो

हजारौं जात्रालुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमि बोडेमा शनिबार बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन्। मध्यपुर थिमि बोडेकै बासिन्दा ४९ वर्षीय बुद्धकृष्णले बोडे उच्च माविसँंगैको बोडे लायकु चोकमा जिब्रो छेडाएका हुन् । प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँंमा जिब्रो छेड्ने जात्रा हुने चलन छ।

करिब एक फिट लामो फलामको सुइरोले बुद्धकृष्णको जिब्रो छेडिएको हो । जिब्रो छेड्दा बाजागाजासहित वाहवाही भएको थियो ।  श्रेष्ठले योसहित नवौं पटक जिब्रो छेडाएका हुन् । यसअघि स्थानीय बुद्धकृष्णलाई बाजागाजाको टोलीसहित जिब्रो छेड्ने जात्रास्थल लायकु चोकमा सम्मानका साथ ल्याइएको थियो

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिव्रो छेडने व्यक्तिको जिव्रो छेडिदिन्छन् । एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ । त्यसपछि जिव्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ । यसपछि उक्त परिवारमा भोज खाने प्रचलन छ ।

यसैगरी भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैठौं दिन शुक्रबार नै मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइँंएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार