मोवाइल चोरेको निहुँमा अर्जुन दासको हत्या

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद छन्। महानगरीय अपराध महाशाखा टोलीका अनुसार उनीहरुलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई महाशाखाको टोलीले पक्राउ गरेर काठमाडौंमा ल्याएर आज सार्वजनिक गरेको हो ।
गत पुसमा जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए। टाउको काटेर छुट्याएर रुखमा बाँधेको अवस्थामा दासको शव भेटिएको थियो ।

लागुऔषधको नशामा हत्या

हत्याभन्दा ३ दिनअघि कमल साउदको मोवाइल हरायो । मोवाइल हराउनुमा कमलले १९ वर्षका सुमित साउदलाई शंका गरे । ‘चोर’ आरोप लगाएर कुटे । सुमितलाई पिटेको रिसमा मनोज भण्डारी र बमबहादुर बोहोराले कमलको २५ हजार बराबरको नाइट्रोभेट–१० चोरेर जंगलमा लुकाए ।

मोवाइल चोरी र सुमितमाथि भएको कुटपिटको मुख्य दोषी सबैले अर्जुन दासलाई नै किटान गरेर उनलाई कुट्ने योजना बनाए । प्रहरीका अनुसार मनोज भण्डारी, सुमित साउद, बमबहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल बिक र करण दर्नाल मिलेर अर्जुनलाई कुट्ने योजना बनाएका थिए ।

पुस २ मा साँझ ६ बजे अर्जुनसहित ११ जना सामुदायिक वनमा लागुऔषध सेवन गर्नका लागि जम्मा हुन्छन् । सबैले लागु औषध खान्छन् । १० जना मिलेर अर्जुनलाई दोषी देखाई कुट्छन् र साजको रुखमा हातखुट्टा बाँधेर राख्छन् । करिब ४–५ घण्टा रुखमा बाँधेपछि हत्या योजनाअनुसार सुशील मयालले खुकुरी ल्याउँछन् ।

हातखुट्टा बाँधेर खुकुरी प्रयोग गरेर घाँटी छिनालेपछि फेरि उनीहरुले लागुऔषध सेवन गरेको अनुसन्धानबाट थाहा भएको एसपी कोइरालाले बताए । रातभर घटनास्थलमा नै बसेर पुस ३ मा ६ जना भारतको दिल्लीतिर भागेका थिए । हत्यामा संलग्न मध्येका कनकलाल विक, करण दर्नाल, सुशील मयाल र सुशीलका साथी (नाम नखुलेका) कैलालीमै बसेका थिए । महाशाखाले भारतबाट काम खोज्न रुपन्देही आएका बेला ४ जनालाई बेलहियाबाट पक्राउ गरिएको जानकारी दिएको छ । हत्यामा संलग्न ५ जना आरोपी अझै फरार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार