एमाले अध्यक्ष ओली विश्व स्काउटको ‘मेधावी योगदान’ पदकबाट विभूषित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन् ।प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो ।

काठमाडौंमा विहीबार आयोजित एक विशेष सुशभोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पदकबाट विभूषित गरेकी हुन् । विश्व स्काउटका पदाधिकारीहरू उपस्थित कार्यक्रममा स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको थियो ।

स्काउटको विकास र विस्तारमा ओली प्रधानमन्त्री भएको बेला विशेष पहल भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । उनले सो अवसरमा ओली संरक्षक रहेकै बेला देशका ७५३ वटै स्थानीय तहमा स्काउट विस्तार भएको बताए ।

भण्डारीले ओलीकै अविभावकत्वमा नेपाल स्काउटले फड्को मारेको भन्दै ओली नेतृत्वको सरकारले १३ हजार सामुदायिक विद्यालमा स्काउट विस्तार गर्ने लक्ष्य लिएको र त्यो सफल हुँदै गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार