राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ।  बुधबार काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हो । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए । सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन् । त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ ।

त्यस्तै एमाले र नेपाल परिवार दलबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । आजै एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

देशभरिका तालमेल सम्भव हुने पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने दुई दलबीच सहमति भएको छ । परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र परिवारका दलका उम्मेदवारहरुलाई एमालेले सघाउने सहमति भएको छ । परिवार दलका उम्मेदवारहरुले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

गठबन्धनमाथि आक्रामक हुँदै आएका ओलीले एक्लै गठबन्धनलाई तहलगाउने भाषण गरिरहे पनि एमाले सत्ता गठबन्धनविरुद्ध गठबन्धन गरेर अघि बढ्ने गरि छलफलमा केन्द्रीत रहेको देखिएको छ । ‘गठबन्धन गरेर को को आउने हो । सबै मिलेर आउन् । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ’ ओलीले भनेका थिए तर वास्तविकता भने त्यस्तो देखिएको छैन ।

ओली सरकारका बेला उनलाई साथ दिएको महन्थ ठाकुर नेतृत्वको लोसपासहितका दलहरुसँग तालमेल गरेर अघि बढ्ने गरि छलफल गरेर अघि बढाइरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

ओलीले मापाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई ‘बिचराहरू’ भन्दै गठबन्धन अलपत्र अवस्थामा रहेको पनि बताएका थिए । तर मंगलबार गठबन्धनको बैठकपछि उनको दल एमाले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेको छ ।

तर, एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले भने कुनै पनि दल आफ्नो पार्टीको चुनाव चिह्न लिन तयार भएकाले त्यसलाई अनुमति दिएको दाबी गर्छन् । ‘एक्लै उठ्ने भन्ने नै थियो तर सूर्य चिह्न लिएरनै उठ्छु भनेर आउँछ भने त्यसलाई हामीले अनुमति दिएका हौं’ उनले भने । ति दलहरुले एमाले बाहेको चिह्न लिएर चुनाव लड्न खोजे तालमेल नहुने उनले बताए । सत्ता गठबन्धनले गरेको तालमेलले आफूहरु नझस्किएको उनको भनाइ थियो ।

‘त्यसलाई जनमतले पछि देखाउँछ अहिले त्यसमा केही भनिरहनु आवश्यक छैन’ उनले भने, ‘एमालेमा पछिल्लो समय आकर्षण बढिरहेको छ ।’

राप्रपा र परिवार दलसँगको तालमेलले सत्ता गठबन्धनसँग भीड्न सक्छ एमाले ?

वैशाख ३० गतेका तय भएको स्थानीय तहको निर्वाचनमा एमाले यस अघिको निर्वाचनमा पाएको जीतलाई कायम राख्दै थप उपलब्धि हासिल गर्ने लक्षमा रहेको नेताहरुले दाबी गर्दै आएका छन् । तर त्यो उसका लागि सहज भने छैन । गत निर्वाचनमा पाएको सफलता अनुसार कार्यसम्पादन नहुँनु, नेकपाको विभाजन र एमालेको फुटका कारण उसको कत बढ्ने भन्दा घट्ने आकलन भइरहेको छ । त्यसमा पनि गत निर्वाचनमा एमालेले जितको दर्जनौं स्थानमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टी थोरै मत पराजित भएका थिए । अब सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुँदा त्यसको प्रत्यक्ष असर एमालेलाई पर्ने देखिएको छ ।

अब, एमालेले राप्रपा र परिवार दलसँग गरेको तालमेलले फाइदा पुग्छ भन्ने प्रश्न उव्जिएको छ । यसमा पनि एमालेलाई खास लाभ हुने अवस्था भने देखिएको छैन ।

राप्रपा अध्यक्षमा पराजित भएपछि केही समय अघि मात्र राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको जनमत कस्तो छ भन्ने देखिएको छैन । एकीकृत राप्रपा हुँदा नै कमजोर हुँदै गएका कमल थापा फुटपछि बलियो भएका छन् भन्ने आकालन सायद एमालेले पनि गरेको छैन होला । तर हेटौंडा लगायका कतिपय स्थानमा भने कमल थापाको पार्टीको केही मत रहेको अनुमान गरिएको छ । केही मतले पराजित हुने स्थानमा भने यो तालमेलले नगण्य रुपमा फाइदा पुग्न सक्छ ।

अर्को दल परिवार दलसँगको तालमेलले पनि एमालेलाई खास फाइदा हुने देखिएको छैन । जनाधार नभएको र तत्काली नेकपा बनेपछि उक्त दलमा समाहित भएको परिवार दलको मतले तात्विक रुपमा एमालेलाई फाइदा हुने देखिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार