नेता र काला व्यापारीका कारण देशमा आर्थिक संकट आयो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताएका हुन् ।

नेताहरुले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे । नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु बताए ।

उनले भने– ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो रु कहाँ गयो त नोट रु नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नेताहरुको घरमा । भ्रष्टाचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनुपर्यो । कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो । बाकसमा राख्नुपर्यो । आज नेताहरुको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ ।’

उनले एकचोटी राप्रपालाई सहयोग गर्न आग्रह गरे । उनले भने, ‘राजेन्द्र लिङ्देन र राप्रपालाई सहयोग गर्नुस् त । यिनीहरूको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार