लेटाङ घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई गोली हानेको खुलासा

चैत ६ गते मोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्ट अनुसार महिला प्रहरी २६ वर्षीया उर्मिला श्रेष्ठलाई गोली लागेको उल्लेख छ ।

यद्यपि प्रहरीले हतियार भने अझै फेला पार्न सकेको छैन । यसअघि महिलालाई भाला, लाठी र धारिलो हतियारले हानेको प्रहरीले सार्वजनिक गरेको थियो ।

पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो ।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । हत्या भएको महिला
प्रहरीको शरीरबाट गोली पनि निकालिएको छ । महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन । हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाइफायर भएको थियो । तर, विधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसेकेको बताइएको छ ।

प्रहरीले लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ । पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार