यस्ता छन् गठबन्धनको उम्मेदवार चयनको मापदण्ड (सूचीसहित)

सिट बाँडफाँड पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने

सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, पाँच दलीय गठनबन्धनका बीच स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा देहाय बमोजिमको संयन्त्रले देहाय बमोजिमको सिट बाँडफाँट गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तो छ मोडालिटी-

  • महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
  • नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेल सम्बन्धी सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
  • महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
  • प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई/दुई जना प्रतिनिधि रहने ।
  • प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ-आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ ।
  • सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।
  • २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने, २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभारलाई आधार मान्ने ।
  • २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी गराउने, २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धनभित्रका दलहरुले प्रमुख पदमा पाएको मतलाई आधार मान्ने ।
  • एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार