भारतबाट हुने यात्रामाथि अमेरिकाले लगायो प्रतिबन्ध, आफ्ना नागरिकलाई दियो यस्तो सुझाव

अमेरिकाले भारतबाट हुने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ । भारतमा कोरोना महामारीले भयावह अवस्था सिर्जना भएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो । अमेरिकी नागरिकका हकमा भने यो प्रतिबन्ध लागु हुने छैन । अमेरिकाले भारतमा रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न पनि सुझाव दिएको छ । चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न चेतावनी दिएकोमा सुरक्षित तरिकाले भारत छाड्न सुझाव दिएको हो ।

अहिले भारत र अमेरिकाबीच १४ वटा सिधा उडानहरु रहेका छन् । अन्य केही उडानहरु युरोप ट्रान्जिट भएर अमेरिका आवतजावत गर्छन् । भारत छाड्न चाहने अमेरिकनहरुलाई व्यापारिक उडान प्रयोग गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ ।

यसअघि अमेरिकाले १० लाख डलर बराबरको स्वास्थ्य सामग्री भारत पठाएको थियो । महामारीको विकराल अवस्थाका कारण विभिन्न देशहरुले भारतसँगको यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार