आयात ३८.६ प्रतिशतले बढ्दा निर्यात ८२.९ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको अवधिमा आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थितिसम्बन्धी समीक्षा रिपोर्टमा यस्तो देखिएको हो। आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु १४७ अर्ब ७५ करोड पुगेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई रु १३०८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रु ११६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार