विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका धमाधम मेयरमा सिफारिस

विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले प्रवेश गरेका थिए भने २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गरेका थिए । पुन: उम्मेदवार भएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयरसमेत हुन् ।

बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रुपमा एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा परेकी छिन् ।

ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुन् भने मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित भएका थिए ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस भएका छन । एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार