दलालहरुसँग साँठगाँठ गर्न नपाएपछि सरकारले गर्भनर हटायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले गर्भनर हटाएकोमा आक्रोश व्यक्त गरेका छन् । उनले अर्थतन्त्र जोगाउन प्रयास गरेवापत सरकारले गर्भनरलाई हटाएको भन्दै आक्रोश व्यक्त गरे । चुनाव लक्षित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बझाङ पुगेका ओलीले कमिसनखोरी गर्न नदिएवापत सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाए ।

‘देश रसातलमा पुर्‍याइसके, सरकार बृद्धभत्ता र कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुगिसकेको छ,’ ओलीले भने ‘खस्किँदो अर्थतन्त्र सुधार गर्नुको सट्टा, आफू कमिसनखोरी गर्ने, बदमासी गर्ने, दलालहरुसँग साँठगाँठ गर्ने अनि अर्थतन्त्र जोगाउन खोज्ने गर्भनरमाथि नै हमला गरेर आफ्नो असली अनुहार देखाउने काम यो सरकारले गरिरहेको छ ।’

उनले गठबन्धन सरकारमा रहेकाहरु देशलाई बनाउने भन्दा पनि पारिवारिक भागबन्डा गरेर देश लुट्न व्यस्त रहेको आरोप समेत लगाए । ‘पाँच वटा मुख भएका खन्चुवाहरू देशप्रति चिन्तित छैनन् । बरु ज्वाईँ, भान्जा, सालासाली, भाइ भतिजाहरुलाई नियुक्ति दिन तँछाडमछाड गरिरहेका छन् । यीनीहरुले देशलाई बर्बाद बनाउँछन्’ उनले भने ।

ओलीले वर्तमान सरकारलाई निर्वाचन नगर्न अनेक बहाना खोजिरहेको समेत आरोप लगाएका छन् । नेकपा एमाले र जनताको दबाबका कारण बाध्य भएर निर्वाचन घोषणा गरेको सरकारले अझै पनि विभिन्न षड्यन्त्र गरिरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार