बाँकेमा ११ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा ११ घण्टामा ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । बुधबार राती ९ बजेदेखि बिहिबार बिहान ८ बजे भित्र उनीहरुको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

ओलीका अनुसार गएराती ८ः५५ बजे नेपालगञ्ज १३ का ५८ वर्षिय पुरुष संक्रमितको मेडिकल कलेजमा मृत्यु भएको थियो भने त्यसको ठीक ५ मिनेट पछि कोहलपुर ११ निवासी ४३ वर्षिया महिलाको पनि मेडिकल कलेजमै र नेपालगञ्ज ४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराती १० बजे मृत्यु भएको तथा बर्दिया, बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको मेडिकल कलेजमा राती १ बजे मृत्यु भएको ओलीले बताए ।

यसैगरि नेपालगञ्ज ५ निवासी ५५ वर्षीय पुरुषको बिहिबार बिहान ५ बजे मेडिकल कलेजमा, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ बर्षिय पुरुषको बिहिबार बिहान ७ः५० बजे तथा खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको बिहिबार बिहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

बर्दियाका ३२ वर्षीय पुरुषको मृत्यु भएसँगै उपचारका लागि बाँकेका विभिन्न अस्पतालमा आएका बाहिरी जिल्लाका १०९ र बाँकेका मात्रै १०६ जनाको मृत्यु भएको ओलीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार