निषेधाज्ञासँगै खोप लगाउने काम पनि स्थगित

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा जारी भएसँगै कोरोना विरुद्धको खोप लगाउने काम पनि स्थगित भएको छ । निषेधाज्ञाका बेला भीडभाड हुन दिन खोप लगाउने काम रोकिएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिएका छन् ।

खड्काले जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । बुधबारसम्म राजधानीका विभिन्न खोप केन्द्रहरूमा खोप लगाउनेको घुइँचो लागेको थियो । जसका कारण संक्रमणको जोखिम बढाएको भन्दै विरोध पनि हुँदै आएको थियो ।

भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन शुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार