कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कोरोना महामारीको समयमा प्रदेशसभाको बैठक सञ्चालन अनुपयुक्त भएको भन्दै आज सभा अवरुद्ध गरेपछि स्थगित भएको हो ।

सभामुख राजबहादुर शाहीले बैठकको कारबाही शुरु गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य गुलाबजङ्ग शाहले टेबुलमा थप्पडी मार्दै उठेर आपत्ति जनाए । तत्पश्चात् सभामुखले उनलाई के होला भन्ने प्रश्न गर्दै बोल्ने समय दिएपछि सदस्य शाहले यो बेलामा सदन नचलाउन आग्रह गरे ।

“कोरोना महामारीको विशेष परिस्थिति छ, सङ्क्रमणको अवस्था भयावह बन्दै गएको छ”, उनले भने, “यतिबेला सदन होइन, जनताको भावनामा सबै एकाकार भएर जानुपर्दछ ।” कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा सभाको बैठक चल्न जायज नभएको उनको भनाइ थियो ।

सदस्य शाहले सरकारले यो जटिल समयमा सही भूमिका निर्वाह गर्न नसकेको आक्रोश पोखेर भनाइ सिध्याउने बित्तिकै एमालेका सबै सदस्यले उठेर बैठक अवरुद्ध गरेका थिए । सभामुख शाहीले पटक–पटक सदस्यहरुलाई आसन ग्रहण गर्न अनुरोध गरे तर अवरोध हटेन । अन्त्यमा उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार