तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युतगृह लगायतको निरीक्षणपछि समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिएका हुन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले आयोजना निर्माणका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गरे ।

आज तनहुँका केही कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण गरेका हुन् । आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार