पल शाहविरुद्धको मुद्दामा धरौटीको सम्भावना न्यून

नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको ओरोप लागेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह)विरुद्धको मुद्धामा आज पनि बहस जारी छ । पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए।पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए ।

पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन । शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको हो ।

थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन् । १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो ।

सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेका छन् । कर्तव्य ज्यान, जवरजस्ती करणी लगायतका गम्भीर प्रकृतिका कसुरमा भने अधिकांश प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएको छ । तत्काल प्राप्त प्रमाणबाट कसूरदार नदेखिए मात्रै तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने गरिन्छ । शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना भने कम छ ।

पलका म्यानेजर कृष्ण जोशीलाई आधा सजायको माग गरिएको छ । पलले बालिकालाई जबरजस्ती करणी गरेको उजुरी तनहुँ ११ फागुनमा परेको थियो । त्यसको चार दिन पछि पल तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गर्न पुगेका थिए ।

नवलपुर जिल्ला अदालतमा पनि गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्रदायर भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार