लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने, उक्साहटमा घटना भएको आशंका

मोरङको लेटाङमा गत आइतबार भएको झडप र एक जना प्रहरी जवानको मृत्युपछि लगाइएको कर्फ्यु आदेश बिहीबार बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएका छन् ।

लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आइतबार आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि भड्किएको हिंसा नियन्त्रण लिन मोरङ प्रशासनले सोमबारदेखि लगाएको कर्फ्यु बुधबारदेखि केही खुकुलो गरेको छ ।

पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।आक्रमणमा २५ प्रहरी र सातजना सर्वसाधारण घाइते भएका थिए । घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । प्रहरी स्रोतका अनुसार कसैको उक्साहटमा लेटाङ घटना भएको र त्यसमा लागूऔषध दुर्व्यसनी प्रयोग गरिएको आशंका छ । अंग्रेजी माध्यमबाट पढाई हुने शिक्षा विकास माध्यमिक विद्यालय लेटाङ नगर भरिकै उत्कृष्ट विद्यालय भएको पुष्टि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार