आफू अपहरणमा परेको झुटो अफवाह फैलाएपछि…

दाङमा प्रहरीले आफू अपहरणमा परेको नाटक गरी झूटा अफवाह फैलाउने रुकुमका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ बस्ने २४ वर्षीय जनक देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।उनलाई जिल्ला प्रहरी कार्यालय दाङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

जिप्रका दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार देवकोटाले तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्तीस्थित हरिप्रसाद रिजाल सञ्चालक रहेको ड्रागन कृषि फर्ममा श्रीमती र एक छोरीसहित काम गर्दै आएका थिए। उनी चैत ६ गते तुलसीपुर बजार जान्छु भनी गएका थिए।

करिब दिउँसो ४ बजेतिर उनकी श्रीमती पवित्रा देवकोटाको मोबाइलमा तपाईँको बूढा हामीसँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौँ। हजुर आफू पनि सुरक्षित ठाउँमा जानुहोस्। हामी हजुरका बूढालाई केही गर्दैनौँ। हामीले हरिप्रसाद रिजालसँग बदला लिनु छ, भनेर म्यासेज आएपछि उनी सम्पर्कविहीन भएका थिए।

त्यसपछि पवित्राले सोही दिन साँझ साढे ६ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरमा उक्त घटनाबारे जानकारी गराएकी थिइन्। प्रहरीले जानकारी प्राप्त गर्नासाथ जिप्रका दाङका प्रवक्ता रिजाल र इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालको नेतृत्वमा उनको खोजी शुरु गर्‍यो।

प्रहरीले उनलाई लमही नगरपालिका ९ अमिलियाको जङ्गलमा फेला पारी मंगलबार बिहान ८ बजेतिर पक्राउ गरेको प्रमुख एसपी काफ्लेले जानकारी दिए।यसअघि देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई मोटो रकम फिरौती मागेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार