सत्ताधारीहरूले स्वार्थका लागि अदालतको दुरुपयोग गर्दैछन् : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतमा सेटिङका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकमा ‌ओलीले पेस गरेको प्रतिवेदनमा पारित हुने अवस्था नरहँदा महाअभियोग प्रस्ताव ल्याएको उल्लेख गरेका छन् ।

‘आफ्ना स्वार्थका लागि न्यायपालिकाका पदाधिकारीहरूलाई हदैसम्म प्रयोग गर्ने र उपयोगिता मूल्य सकिएपछि महाअभियोगको प्रस्तावमार्फत् मानमर्दन, अपमान र आक्रमण गर्ने सत्ताधारीहरूको यो तरिका अनैतिक र दूषित मनशायले युक्त छ’ओलीले भनेका छन्, ‘महाअभियोग प्रस्ताव पारित हुन चाहिने दुईतिहाई सङ्ख्या आफूहरूसँग छैन भन्ने जान्दाजान्दै पनि प्रस्ताव दर्ता गर्नुको मक्सद प्रधानन्यायाधीशलाई निलम्बन गर्नु, आफू अनुकूलको सेटिङ खडा गर्नु र न्यायालयको भयदोहन गर्दै आफूहरू विरुद्धका सङ्गीन मुद्दाहरूबाट ध्यान विकेन्द्रित गर्नु या तिनमा न्यायपूर्ण फैसला हुन नदिन अदालतमाथि दबाब सिर्जना गर्नु हो ।’

सत्ताधारीहरूका स्वार्थका लागि अदालतको दुरुपयोगको यो शृंखला निरन्तर अघि बढिरहेको ओलीको आरोप छ ।

‘यसैको सहउत्पादनका रूपमा अदालतमा लामो समय हडताल चलने, न्याय खोजिरहेका पीडितहरूको न्यायको अधिकारमाथि अवरोध खडा हुने र स्वतन्त्र न्यायपालिकाको मर्ममाथि नै निर्मम प्रहार हुने स्थिति बनेको छ । यसैको पछिल्लो कडीका रूपमा, सत्ता गठबन्धनले प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेको छ’ओलीले भनेका छन् । महाअभियोग दूषित मनशायले अगाडि सारिएको उनले उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार