भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या,अब १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने

काठमाडौं । भारतीय बजारमा बिजुलीको भाउ बढेपछि नेपाल विद्युत प्राधिकरणलाई आयात गर्नका लागि बिजुली किन्न मुस्किल परिरहेको छ। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार कोइलाको अभाव र पेट्रोलियम पदार्थको भाउ बढेकाले भारतीय बजारमा बिजुलीको भाउ पाँच गुणासम्म बढेको छ। एक महिनाअघि रूसले युक्रेनमाथि आक्रमण गरेपछि संसारभरि नै पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ।

नेपालले भारतबाट बोलकबोल गरेर बिजुली खरिद गर्दै आएकोमा हिजो कबोल गरेको मूल्यमा बिजुली पाउन सकेन । भारतमा हरेक १५ मिनेटमा बिजुलीको भाउ फरक–फरक हुने गर्छ । ‘यसअघि हामीले प्रतियुनिट सात भारतीय रुपैयाँमा किन्दै आएको बिजुली हिजो १२ भारुमा पनि पाइएन, हिजो राति १२ बजेदेखि आज राति १२ बजेसम्म भारतबाट आउने बिजुली बन्द भएको छ’, प्रवक्ता भट्टराईले भने ।
भारतबाट बिजुली आयात बन्द हुँदा उद्योगीहरूलाई बिजुली खपत कम गरिदिन आग्रह गरिएको प्राधिकरणले जनाएको छ । आज रातिदेखि भने प्राधिकरणले प्रतियुनिट १२ भारुमा बिजुली किन्दैछ । ‘हामीले आज बोलकबोल गरेर १२ भारुमा अर्थात् १९ रुपैयाँ दुई पैसामा बिजुली किन्दैछौँ, यो बिजुली आज राति १२ बजेदेखि आउन सुरु गर्छ’, प्रवक्ता भट्टराईले भने ।

नेपालमा सुक्खायाम सुरु भइसकेकाले बिजुली उत्पादन कम भइरहेको छ । बर्खामा नेपालको उत्पादन क्षमता झन्डै दुई हजार मेगावाट पुगे पनि सुक्खा समयमा जम्मा आठ सय मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ । उच्च माग अर्थात् पिक डिमान्ड १६ सय मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ ।

अस्ति सोमवारसम्म प्राधिकरणले भारतबाट साढे चार सय मेगावाटसम्म आयात गरिरहेको थियो । भारतबाट बिजुली आयात रोकिएपछि नेपालमा माग धान्न मुस्कील परिरहेको छ । बुटबल, वीरगञ्जलगायतका केही औद्योगिक क्षेत्रमा उद्योगले मागेजति बिजुली पाउन सकेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार