ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् ।मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन् ।

ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन् । मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रशारणलाइन निर्माणलाई विशेष जोड दिइएको बताए ।

जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने र त्यसले जनधनको क्षति बढाउँदै लगेको छ, त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।” उनले मनाङ्, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमूना काम हुने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार