काठमाडौंको मेयरमा पूर्वमन्त्रीदेखि कलाकारसम्मको रूचि

कस्ले मार्ला बाजी ?

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलहरूमा कसलाई उम्मेद्वार बनाउने भन्ने बारेमा रस्साकस्सी सुरु भएको छ। निर्वाचनका लागि मनोनयन गर्न अब करीब एक महिना मात्र बाँकी छ । गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका कार्यक्रमहरु गाउँ केन्द्रित हुन थालेका छन् । काठमाडौं महानगरपालिकामा पनि राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ । काठमाडौं महाननगर देशको राजधानी शहर भएका कारण पनि यहाँको मेयर यसपटक को बन्छ भन्ने चासो सबैमा छ । केन्द्रिय राजनीतिमा नै प्रभावशाली भूमिका हुने र अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय पनि हुने भएकाले काठमाडौं महानगपालिकाको मेयरमा सांसददेखि मन्त्री भइसकेका नेताहरूले समेत रुची देखाउन थालेका छन् । कतिपयले उम्मेदवारी दिने घोषणा समेत गरिसकेका छन् ।

एमालेमा आकाङ्क्षी धेरै
गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर जितेको पार्टी एमालेमा उम्मेदवार बन्न चाहनेको संख्या धेरै छ । वर्तमान मेयर विद्यासुन्दर शाक्य पुनः मेयरमा दोहोरिने कसरतमा छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा पटक पटक पार्टीले टिकट दिए फेरि उम्मेदवार बन्न तयार रहेको बताउँदै आएका छन् । शाक्य एमाले अध्यक्ष ओलीका निकट पात्र समेत मानिन्छन् । उनले यो विचमा पार्टी भित्र पनि आफुले नै मेयरका टिकट पाउनु पर्ने प्रस्ताव राखेको उनी निकट स्रोतले बताउँछ । तर यो पटक एमाले नेता केशव स्थापितले पनि मेयरमा उम्मेदवारी दिने चर्चा छ । स्थापितले भने यो विषयमा सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छैनन् । उनी अघिल्लो पटकको निर्वाचनमा पनि मेयरको टिकटका दाबेदार थिए । तर अन्तिम समयमा शाक्यलाई मेयरको टिकट दिइ स्थापितलाई पार्टीले बागमती प्रदेशको सभा सदस्यको टिकट दिएको थियो । स्थापितले शाक्यलाई मेयरमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसबाहेक एमालेबाट काठमाडौंको मेयरमा कृष्ण राईको पनि चर्चा हुने गरेको छ । उनी एमाले जिल्ला कमिटी अध्यक्ष भइसकेका छन् । भने बागमती प्रदेशका सांसद र अहिले एमालेका केन्द्रीय सदस्य समेत रहेका छन् । उनले पनि मेयरको टिकटका लागि लभिङ सुरु गरिसकेका छन् । यस्तै बागमती प्रदेश सभाका सदस्य डा. अजयक्रान्ति शाक्यले पनि काठमाडौंको मेयरमा रुचि देखाएका छन् । उनलाई एमालेमा ओली निकट मानिन्छ । केही महिनायता बिरामी परेकाले उनी राजनीतिक रूपमा भने सक्रिय छैनन् ।

काँग्रेसमा उपमेयर देखि प्रकाशमान सिंहकी पत्नीसम्मको दाबी
काँग्रेसमा पनि काठमाडौंको मेयरमा दाबी गर्ने संख्याको धेरै छ । टिकट पाउनका लागि नेताहरुले लभिङ सुरु गरिसकेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट वर्तमान उपमेयर हरिप्रभा खड्गीले दाबी गरेकी छिन् । खड्गीले आइतबार काठमाडौंको एक कार्यक्रममा बोल्दै आफू सबै हिसाबले मेयरका लागि योग्य रहेको दाबी गरेकी थिइन् ।
‘वैशाख ३० गते हुने चुनावमा मलाई पार्टीबाट मेयरको टिकट चाहिन्छ । म केमा असक्षम छु ? म हरेक कुरामा सक्षम छु’, खड्गीले भनिन्, ‘हामी एस म्यान हुन मात्रै राजनीतिमा आएका होइनौं ।’
यस्तै कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी एवं कांग्रेस नेतृ सिर्जना सिंहले पनि काठमाडौंको मेयरमा रुचि देखाएको काँग्रेस निकट स्रोतले बताएको छ । उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट महासमिति सदस्य रहेकी छिन् । प्रकाशमान सिंह पार्टीको चौधौ महाधिवेशनमा सभापतिमा पहिलो चरणमा नै पराजित भएका थिए । दोस्रो चरणमा उनले देउवालाई सहयोग गरेका थिए । त्यसैले पनि सिंह पत्नी सिर्जनाको सम्भावना बलियो भएको नेताहरुले बताउँछन् । यता
यस बाहेक, कांग्रेसको महानगर समितिका सचिव रहेका सुसन वैद्यले पनि पार्टीमा मेयरको टिकटका लागि लबिङ थालेका छन् ।काठमाडौं महानगरको वडा नम्बर १६ का अध्यक्ष रहेका मुकुन्द रिजालले पनि मेयरको टिकटको लागि लबिङ गरिरहेका छन् । गत निर्वाचनमा वडा नम्बर २० का अध्यक्ष निर्वाचित भएका नीलकाजी शाक्य पनि मेयरको टिकट हात पार्न लागिरहेको कांग्रेस वृत्तमा चर्चा छ ।

गठबन्धन बैठकमा मेयर पाउनु पर्ने एकीकृत समाजवादीको दाबी
वर्तमान सत्ता गठबन्धनको प्रमुख दल एकीकृत समाजवादीले पनि काठमाडौंको मेयरमा दाबी गरेको छ । गठबन्धनको बैठकमा समाजवादीले काँठमाडौं या पोखराको मेयर आफुले पाउनुपर्ने कुरा उठाउँदै आएको छ । तर काँग्रेस काठमाडौंको मेयर छोड्ने पक्षमा देखिएको छ । नेकपा (एसा)को तर्फबाट केन्द्रीय सदस्य जीवनराम श्रेष्ठको नाम चर्चामा छ । उनी यसअघिको चुनावमा पनि एमालेका तर्फबाट मेयरको टिकटका दाबेदार थिए । अहिले उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा छन् ।

स्वतन्त्र उम्मेद्वार

यसबाहेक काठमाडौंको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरुको चर्चा छ । केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ उम्मेदवार बन्न सक्ने सम्भावना छ । चर्चित ¥यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा दाबी गरेका छन् । उनले स्वतन्त्र रुपमा चुनाव लड्ने बताउँदै आएका छन् । शाहले केही दिनअघि फेसबूकमा लेखेका थिए, ‘अब युवाको पालो, हामीले पढेको, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं ।’

यस्तै सन् २०११ मा मिस नेवाः को ताज जितेकी सुनिता डंगोलले आगामी निर्वाचनमा स्वतन्त्ररूपमा काठमाडौंको मेयरको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् ।उनको राजनीतिक परिचय नभए पनि उनले रञ्जना लिपिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने र स्थापित गर्ने अभियानमा काम गरिरहेकी छिन् । काठमाडौं महानगरको विकास गर्ने योजना आफूसँग रहेकाले मेयरको उम्मेदवार बन्न चाहेको उनले बताएकी छन् ।

विगतकाे नतिजा

२०७४ को निर्वाचनमा काठमाडौंको मेयरमा शाक्य विजयी हुँदा ६४ हजार ९१३ मत प्राप्त गरेका थिए । शाक्यले करीब २० हजार मतान्तरसहित चुनाव जितेका थिए ।त्यस बेला उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी थिए । उनले ४५ हजार २६९ मत पाएका थिए । त्यसबेला एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गरेका थियो । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ मत पाएर विजयी भएकी थिइन् । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए । एमालेका मतदाताले राप्रपाका उम्मेदवारलाई मत नदिँदा कांग्रेसले उपमेयर जित्न सफल भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार