जुवाडेलाई चेक फिर्ता दिएको घटना : एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस

जुवाखालमा ‘चोरी भएको चेक’ उजुरीकर्तालाई जानकारी नदिई आरोपी पक्षलाई फिर्ता गरेको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । डिआइजी राजेशलाल कर्ण नेतृत्वमा छानबिन समिति गठन गरी प्रधान कार्यालयले छानबिन सुरु गरेको थियो । कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिएका थिए । २०७८ पुस १३ मा गठन भएको समितिले प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित त्रुटिपूर्ण काम गरेको ठहर गरेको छ ।

सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा उनका साथी सुभाष भेटवालले लिएका थिए । बरालले आफ्नो चेक चोरी भएको बताएका छन् । ती चेकमा भेटवालले आफैँ रकम भरेको उनको दाबी छ । घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए । उनले चेक हराएको भन्दै खोजीका लागि प्रहरी वृत्त, बानेश्वर र काठमाडौं प्रहरी परिसर, टेकुमा पनि उजुरी दिए ।

प्रहरीले भने चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुचुल्का गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ अनुसन्धान नगरी प्रहरीले आरोपी भेटवाललाई चेक फिर्ता दिएको थियो । सरुवा हुने दिनमा एसएसपी सिंहले भेटवाललाई चेक फिर्ता गरेपछि प्रहरी विवादमा फसेको हो । तत्कालीन एसएसपी सिंह र डिएसपी नरेन्द्र चन्दले आरोपीको पक्ष लिएका कारण पनि प्रहरी विवादमा परेको थियो ।

पीडित बरालले दिएको उजुरीका आधारमा गृह मन्त्रालयले छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । सोही आधारमा छानबिन अघि बढेको थियो । डिआइजी कर्ण नेतृत्वको छानबिन समितिमा एक एसपी र एक डिएसपी सदस्य थिए । सुरुमा आरोपीलाई चेक नै आफूसँग नभएको बताएका थिए भने पछि जुवामा जितेको बताएका थिए । प्रहरीले फिर्ता गरेपछि चेक बाउन्स गराउन उनी बैंक पुगेका थिए ।

बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गासम्बन्धी कार्यालयबाट प्रहरीले सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । फुटेजमा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको छ । प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । जुवा खेलेको र खेलाएको फुटेज भएपनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्विकार गरेर लामो समय चेक आफैंसँग राखेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार