रुसी सेनाले चेर्नोबिलको प्रयोगशाला लुटेर नष्ट गरेको युक्रेनको दाबी

युक्रेनी अधिकारीहरूले चेर्नोबिल आणविक उर्जा केन्द्रमा कब्जा जमाउने रुसी सेनाले प्रयोगशाला ‘लुटेर नष्ट’ गरेको दाबी गरेका छन्। युक्रेनको राज्य एजेन्सी फर एक्सक्लुसिभ जोन म्यानेजमेन्टले रुसी सेनाले आफ्नो केन्द्रीय विश्लेषणात्मक प्रयोगशालालाई क्षति पुर्याएको बताएको छ, जहाँ ठूलो मात्रामा आणविक वस्तु भण्डार गरिएको थियो।

आफ्नो फेसबुक पेजमा, एजेन्सीले भन्यो, ‘त्यहाँ रेडियोन्यूक्लाइडका नमूनाहरू राखिएका थिए जुन धेरै सक्रिय थिए, ती अब शत्रुको हातमा छन्।’

एजेन्सीका अनुसार, प्रयोगशाला ६ मिलियन यूरोको लागतमा निर्माण गरिएको थियो र ‘महत्वपूर्ण उपकरण’ राखिएको थियो जुन युरोपमा कतै पाइँदैन।

सन् १९८६ मा चेर्नोबिलमा विश्वको सबैभन्दा खराब आणविक प्रकोप भएको थियो। त्यसयता प्लान्ट बन्द छ, यद्यपि यसलाई नियमित मर्मत आवश्यक छ।

युक्रेन विरुद्धको युद्ध सुरु भएको केही दिनपछि रुसी सेनाले पावर प्लान्ट कब्जा गरेको थियो र त्यहाँ कामदारहरूलाई केही दिन राखिएको थियो। पछि उनीहरु रिहा भएका थिए । यस हप्ताको सुरुमा युक्रेनको संसदले चेर्नोबिल प्लान्टको वरिपरिको जिगल्समा आगो लागेको बताएको थियो। यो कुरा स्याटेलाइट तस्विरमा पनि पुष्टि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार