स्थानीय चुनावमा सेना र सशस्त्रलाई पनि खटाउन प्रस्ताव

प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने

काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि प्रहरीमात्र प्रर्याप्त नहुने भएको छ । सेनालाई पनि सुरक्षाका लागि खटाउने तयारी गरीएको छ ।२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने विश्लेषण गरेर प्रहरी प्रधान कार्यालयले केही ठाउँको सुरक्षा जिम्मा सशस्त्र प्रहरी र सेनालाई दिन प्रस्ताव गरेको छ ।

२०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सरकारले २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । त्यतिबेला ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र सेनालाई खटाउने गरी कार्यविधि बनाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान केन्द्रमा म्यादी सहित ११ जना, संवेदनशीलमा ७ जना र सामान्यमा ५ जना प्रहरी परिचालन गरेको थियो । देशभर एकै पटक चुनाव गराउँदा सो संख्यामा प्रहरी र म्यादी नपुग्ने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार