कलैयाका मेयर राजेशले जिते कांग्रेस बारा सभापति

नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको सभापति पदमा राजेश राय यादव निर्वाचित भएका छन् ।

यादवले १ हजार २०६ मत ल्याएर विजयी भएका हुन् । उनी कलैया उपमहानगरका मेयरसमेत हुन् । सभापतिका अर्का उम्मेदवार शम्भुबहादुर बुढाथोकीले १ हजार १५४ मत ल्याएका छन् ।

यहाँ पहिलो चरणमा सभापतिका तीन जना उम्मेदवार थिए । दोस्रो चरणमा भएको मतदानमा संस्थापन पक्षकै दुई उम्मेदवार यादव र बुढाथोकी प्रतिस्पर्धामा उत्रिएका थिए ।

सभापति जितेका यादवलाई शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले पनि दोस्रो चरणमा समर्थन गरेका थिए ।

यादवले ५२ मतान्तरले बुढाथोकीलाई हराएका हुन् । प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए ।

नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले भने “ स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार