पश्चिमी युक्रेनको सैन्य अखडामा रुसी आक्रमण, ९ जनाको ज्यान गयो

काठमाडौं । पश्चिमी युक्रेनमा रहेको सैन्य अखडामा रुसले आक्रमण गरेको छ । उक्त रूसी आक्रमणमा नौजनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन्। रूसको यो आक्रमणसँगै युद्ध पोल्याण्डको सिमाना नजिक पुगेको छ। यसअघि रूसी उपविदेशमन्त्री सर्गेई र्‍याकबकोभले युक्रेनमा अमेरिका लगायत कुनै पनि देशले हतियार पठाए आक्रमण गर्ने गर्ने चेतावनी दिएका थिए।

ल्भिभ प्रान्तका गभर्नर मक्सिम कोजित्स्कीले रूसी सेनाले पोल्याण्डबाट १० किलोमिटर दूरीमा रहेको याभोरिभ सैन्य अखडामा ३० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए। यो सैन्य अखडा ल्भिभ शहरबाट ६० किलोमिटर दूरीमा अवस्थित छ। अधिकारीहरूले पश्चिमी युक्रेनी शहर इभानो(फ्रान्किभस्कको सैन्य विमानस्थलमा पनि रूसी सेनाले गोली चलाएको बताएका छन्।

यो सैन्य अखडा युक्रेनी सेना र उसका नेटो सहयोगी सेनाले प्रयोग गर्ने गरेको थियो। विशेषगरी नेटो र नेटो बाहिरका सैनिकहरूले उक्त अखडामा अभ्यास गर्ने गरेका थिए। पछिल्लोपटक फेब्रुअरी महिनाको शुरुमा उक्त केन्द्रमा अमेरिकी सैन्य प्रशिक्षकसँग युक्रेनी सैनिकले तालिम लिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार