प्रकाश सपुतको ‘पिर’बारे बाबुराम भट्टराईको टिप्पणी : जनयुद्धको विरोध गरेको छैन

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ले यतिबेला बजार तताएको छ । गीतसंगीतको बजार मात्र होइन यसले राजनीतिक क्षेत्रमा समेत तरंग ल्याएको छ । जनयुद्धको विरोध गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले आलोचना गरेका छन् । अर्काथरीले भने गीतले वास्तविक अवस्था झल्काएको भन्दै प्रशंसा गरेका छन् ।

१६ मिनेट लामो गीतले माओवादीको सशस्त्र द्वन्द्व र त्यसपछिको अवस्थालाई झल्काएको छ । समाज परिवर्तनको सपना लिएर युद्ध लडेकाहरुको सपना पूरा नभएको र उनीहरु बिचल्लीमा परेको कुरा गीतमा देखाइएको छ । सशस्त्र द्वन्द्वपछि टाठाबाठा नेताहरु सत्तामा पुगेर हालीमुहाली गरेको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा गीतले समेटेको छ ।

तर सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन् । गीतको भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्तको अभिनय छ । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुत र सम्झना भण्डारीको स्वर छ ।

यस्तै जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सपुतको नयाँ गीत ‘पिर’मा आपत्ति मान्नुपर्ने कुरा नभएको लेखेका छन् । आफू जनयुद्धको अगुवा हुनुको नाताले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराईले उल्लेख गरेका छन् ।

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु – त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार