कांग्रेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने, लामा बाहिरिए

नेपाली कांगेस सिन्धुपाल्चोकमा सभापतिका लागि दाेस्राे चरणमा मतदान हुने भएकाे छ ।शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे ।

पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८ प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३ (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

अब जंगबहादुर र वंशलालबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुने भएकाे छ । प्रेमध्वज बाहिरिएका छन् ।संस्थापनइतरका जिल्ला सभापतिका एक्ला उम्मेद्वार एवं इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल जिल्ला नेतृत्व हत्याउने दाउमा छन् भने संस्थापन पक्षका मोहनबहादुर बस्नेतनिकट जंगबहादुर पनि बलियो स्थितिमा छन् ।

यसअघि बस्नेतकै लाइनमा रहेका डा प्रेमध्वजले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर नेतृत्व दाबीका लागि होमिएका थिए । तर, अन्त्यमा उनलाई बस्नेत पक्षले नसघाएको देखिन्छ ।

कांग्रेस सिन्धुपाल्चोक यसअघि संस्थापनइतरको पकडको भएको जिल्ला हो। तर, १४ औं महाधिवेशनमा निर्वाचित क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संख्या हेर्ने हो भने संस्थापन पक्षले जिल्लामा पकड जमायो। पूर्वजिल्ला सभापति तथा जिल्लाको क्षेत्र नम्बर १ मा एकछत्र राज गर्दै आएका बस्नेत हाबी हुँदा याे स्थिति बनेकाे हाे ।

अब डा. प्रेमध्वजले सभापतिमा कसलाई सघाउँछन् भन्ने चासाे बढेकाे छ । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार