संसद्लाई निकम्मा बनाएर भत्ता खाने थलो बनाए: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्लाई निकम्मा बनाएर भत्ता खाने थलोको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले मुद्दा लडेर ल्याइएको संसद्लाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताएका हुन् ।

उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर गरे । त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । एमालेलाई चुनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनको भनाई छ । उनले एमालेले चुनाव जित्ने भए कालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे ।

वर्तमान सरकार पाँच जना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने उनले बताए । त्यस्तै उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरू र सरकारमा रहेको मन्त्रीहरूलाई सत्ताको उन्माद लागेको उल्लेख गरे ।

अध्यक्ष ओलीले यसअघि आफ्नो नेतृत्वको सरकार हुँदा आफूलाई असहयोग गर्न काँग्रेसले आफु निकट कर्मचारीलाई निर्देशन दिएको चर्चा गर्दै अहिलेको सरकारलाई भने पूर्ण रूपमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार