आफ्नै ताकतमा चुनाव जित्ने कुरालाई प्राथमिकता दिने प्रचण्डको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै ताकत र खुट्टामा उभिएर चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकता दिएको बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको बताएका हुन् ।

नुवाकोटमा शनिबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष दाहालले निर्वाचनको कार्यक्रम, नीति र योजना बनाउने क्रम चलिरहेको बताएका छन् । पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा लागेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, ‘अब पार्टी पूरै चुनावमा केन्द्रित भएको छ । हामी आफ्नै खुट्टामा उभिएर, आफ्नै ताकतमा जित्ने कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । कसैसँग तालमेल गर्ने स्थिति भएमा त्यसमा पनि ध्यान दिने र तालमेल गर्दा गठबन्धनकै बीचमा गर्ने नीति छ ।’

एमसीसीका कारण कतिपय नेता कार्यकर्ताले पार्टी छाडेकोमा प्रचण्डले त्यस्तो गर्नुपर्ने अवस्था नरहेको बताए । उनले माओवादीका कारण एमसीसी जस्ताको त्यस्तै पारित नभएको र देश पनि दुर्घटनाबाट जोगिएका बताए ।

सुरुदेखि नै माओवादीले एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भन्ने धारणा राखेको र संसद्बाट सोहीअनुसार व्याख्यात्मक घोषणा गरिएको उनको भनाइ थियो । एमसीसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा यथास्थितिका पक्षमा मतदान नगर्ने भनेर सरकारको प्रमुखलाई जानकारी दिइएको र सडकमा पनि आन्दोलन गरेकाले व्याख्यात्मक घोषणा गरिएको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट लगायतले माओवादीले एमसीसी पारित गरेको भनेर एमाले प्रवेश गर्नु आफैंमा उदेकलाग्दो कुरा भएको बताए । जसले एमसीसी जस्ताको तस्तै पारित गर्न चाहेको थियो त्यो पार्टीमा जानु पलायनवादीहरुको चरित्र रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार