पल-गायिका प्रकरण : आफूविरुद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न पीडित पक्षको माग

काठमाडौं । जबरजस्तीकरणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) को पक्षमा लागेर जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न पीडित पक्षले माग गरेको छ । पीडित गायिकाका आमाबाबुले आफूहरु विरुद्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबाही गर्न माग गरेका हुन् ।शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।

बलात्कारविरूद्ध प्रहरीमा जाहेरी परेपछि पलका पक्षधरहरूले पीडितविरूद्ध सडकमा नाराबाजी गर्नुका साथै सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिएका थिए।

पलसँग पीडित पक्षले पैसा खाएको, बार्गेनिङ गरेको, मुद्दा फिर्ता लिने र प्रहरी हिरासतमै विवाह गरिदिने भनेकोजस्ता कुरा झूटा भएको र त्यस्तो कुरा बोल्नेलाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ ।न्यायका लागि कानुनी उपचारमा आउनुअघि पटकपटक पीडक पक्षले मिल्न दबाब दिएको आमाको भनाइ छ।

उनका अनुसार बलात्कारविरूद्ध जाहेरी दिन पहिलोपटक गत माघ ९ गते पीडित परिवार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेको थियो। पलले फोन गरेर जाहेरी नदिन भने। अन्तिम अवस्थामा जाहेरी नदिइकन पीडित परिवार पोखरा फर्कियो।

भोलिपल्ट माघ १० गते पोखरा आएर पलले घटनामा मिलापत्र गर्न जोड लगाए। त्यस दिन पलले केही सञ्चारकर्मीसमेत लगेर बलात्कारको उजुरी नदिन र मिल्न दबाब दिएका थिए।

पीडित पक्ष नमानेपछि पलले बलात्कारविरूद्ध जाहेरी दिए आफ्नो ‘करिअर’ सकिने र नाबालिग गायिकाको पनि करिअर सकिने भन्दै पीडितलाई आफ्नो पक्षमा पार्न खोजेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार