एकीकृत समाजवादी र लोसपालाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो । उक्त छलफलमा एमालेले एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो ।

गत भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले जसपा फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए । जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो ।

अध्यादेश अनुसार पार्टी फुटाउँदा राष्ट्रिय दल हुन सक्ने तर, अध्यादेश फिर्ता भएपछि उक्त पार्टी राष्ट्रिय दल कहिलेसम्म कायम रहने भन्ने विषयमा कानूनी व्यवस्था प्रष्ट नभएको एमालेको तर्क छ ।

कानूनी व्यवस्था प्रष्ट नभएकाले अध्यादेश फिर्तासँगै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय दलको मान्यता पनि खारेज भएको नेकपा एमालेका नेता बाबुराम दाहालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार