रुसद्वारा युक्रेनका थप ३ सहरमा आक्रमण, राजधानी किएभ नियन्त्रणको अन्तिम प्रयास

काठमाडौं । रुस र युक्रेनबीचको युद्धले नयाँ मोड लिएको छ । युक्रेनमाथि रुसले सफलता हासिल गर्दै गएको छ । रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण गरेको छ । यसअघि आक्रमण नभएको लुट्स, नीप्रो र इभानो–फ्रान्किभिस्कमा रुसी फौजले आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यी फरक दिशामा रहेका सहरहरूमा रुसी फौजले गए राति एकै पटक आक्रमण गरेको हो । रुसी सेनाले ती सहरहरूमा विमानस्थल, लडाकु विमान मर्मत केन्द्र लगायतलाई लक्षित गरी विस्फोट गराएका हुन् ।

यस्तै रुसी सेना राजधानी किएभमा केन्द्रित हुन थालेका छन् । किएभबाट पाँच किलोमिटर नजिकै रुसी सेनाले घेरा हालिरहेका युक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का कुटनीतिज्ञहरूको बैठक आज बस्दैछ । रुसले अमेरिकामाथि युक्रेनमा जैविकअस्त्र निर्माणमा सहायता गरिरहेको आरोप लगाउँदै त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक माग गरेको हो । अमेरिकाले रुसी आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार