स्वतन्त्रताको नाममा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन बढ्दै छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा छाडापन मौलाएको बताएका छन् । उनले हामीमा पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताए का छन । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन देखिएको उनको भनाइ थियो । ‘हामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ। आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ’, उनले भने ।

ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गर्दै देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताए ।

‘मकैको खेती काण्ड भन्ने पुस्तक लेख्दा जेल जानुपर्ने अवस्था थियो । लक्ष्मीप्रसाद देवकोटाले लाइब्रेरी खोल्दा कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘२००७ सात सालपछि बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलायो ।’

उनले राणाकाल र राजाको शासन हुँदासम्म प्रेस स्वतन्त्रता नफक्रिएको बताए । नेपाली काँग्रेसले भागेको राजा काँधमा बोकेर ल्याएको उल्लेख गर्दै उनले कहिले पनि राजाको विरोध नगरेको उल्लेख गरे । उनले २०४६ पछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग गर्न पाइएको उल्लेख पनि गरे ।

प्रेस चौतारीको पोखरामा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार