भक्तपुरमा मृत भेटिएकी नगरकोटीका हत्या आरोपी पक्राउ

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत फागुन २३ गते चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र महिलाको शव फेला परेको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी स्थायी घर भई हाल भक्तपुर नगरपालिका-१० थलाछे बस्ने ४४ वर्षीय कुमार लामा र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका-४ चौबास स्थायी घर भई हाल भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेका अनुसार काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीय जेनिशा नगरकोटी मृत भेटिएकी थिइन् ।

उक्त घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएकोमा संलग्न व्यक्तिलाई खोजतलास गरी पक्राउ गरेको पाण्डेले जनाए । भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार