निर्वाचन आयोगको स्पष्टीकरण : गणना सजिलोका लागि चुनाव चिन्ह हरियो !

काठमाडौं । निर्वाचन आयोगले सजिलोका लागि मतपत्रमा हरियो चुनाव चिन्ह प्रयोग गर्ने निर्णय गरेको बताएको छ । आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको हो ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताए ।

नेपालमा निर्वाचनमा चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ । २०७४ सालको निर्वाचनमा चुनाव चिह्न पनि नीलो रङको थियो । चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाइएपछि ३० वैशाखको स्थानीय निर्वाचनमा रङ भिन्नता गर्न खोजेको अर्यालले बताए ।

निर्वाचन आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा त्यसको आलोचना गरेका छन् । उनले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार