रुससामु आत्मसमर्पण नगर्ने युक्रेनको घोषणा, वार्ता निष्कर्षविहीन

काठमाडौं । रुस र युक्रेनका विदेश मन्त्रीबीचको वार्ता निष्कर्ष विहिन भएको छ । टर्कीको अन्टाल्यामा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाबीच आज बिहीवार भएको वार्तामा कुनै प्रगति नभएको बीबीसीले जनाएको छ ।

वार्तापछि बोल्दै रुसी विदेश मन्त्री लाभरोभले रुस युक्रेनमा मानवीयताको रक्षार्थ तयार रहेको पुरानै दाबी दोहोर्‍याएका छन् । उनले युक्रेनले कसैको उक्साहटमा नलागी आफ्नो निर्णय आफैँ गरोस् भन्ने रुसी चाहना रहेको बताउनुभएको खबरमा उल्लेख छ । लडाइँ भइरहेका सहरबाट नागरिकलाई बाहिर निकाल्नका लागि रुसले सहयोग गरिरहेको विदेश मन्त्री लाभरोभको भनाइ छ ।

यस्तै वार्तापछि बोल्दै युक्रेनका विदेश मन्त्री कुलेबाले वार्तामा कुनै प्रगति नभएको र आफूहरूले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याएको बताउनुभयो । ‘म दोहोर्‍याउन चाहन्छु, युक्रेनले कहिल्यै आत्मसमर्पण गरेन, गर्दैन र गर्ने पनि छैन’, कुलेबाले भने ।
रुसले आफ्नो देशमा युद्धविराम गर्नुपर्ने र सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार