संखुवासभामा बस दुर्घटना : हेलिकोप्टरबाट घाइतेको उद्धार (भिडियोसहित)

काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मादी ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो ।

हालसम्म मृतकको पहिचान भएको छैन । दुर्घटनामा पाँच जनाको भने जिवितै उद्धार गरेर अस्पताल पठाइएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

हाल घटनास्थलमा उद्धारकार्य जारी रहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार