आज मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु-भागमा अपरान्ह पछि एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिमा भने देशको पहाडी तथा हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, शुक्रबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघ गर्जन, चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार