सुनको मूल्यले बनायो नयाँ रेकर्ड

बुधबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो । यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको मूल्य आकासिएको व्यवसायी बताउँछन् ।

चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँ निर्धारण भएको छ । बजारमा केहीदिन यता सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

अहिले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ । फागुन १२ गते अर्थात् फेब्रुअरी २४ देखि रूसले युक्रेन माथि सैन्य हमला गरेको थियो । उक्त दिन नेपाली बजारमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको थियो । उक्त दिनदेखि आजसम्म सुन प्रतितोलामा ६ हजार ५ सयले बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार