बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा कीर्तिपुरबाट दुई छोरा पक्राउ

काठमाडौँको कीर्तिपुरबाट बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले ६५ वर्षीय न्हुच्छे महर्जनको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतकका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जन रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार छोराहरूले बुवामाथि प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरासन्न हुने गरी प्रहार गरेका थिए । दुई छोराको कुटपिटबाट बुवा गम्भीर घाइते थिए । यसअघि पनि उनीहरू पटकपटक झगडा गरिरहने गरेको प्रहरीले जनाएको छ ।

सो खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले घाइतेको उपचारको लागि वीर अस्पताल काठमाडौंमा पठाएको थियो । त्यहाँ उपचारको क्रममा राति साढे ७ बजे मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार