मृत्युसंस्कारमा पनि देखासिकी

नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट ६ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपैयाँ खर्च भएको उनले बताए ।

सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गरे ।

सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ । यसरी अन्त्येष्टिका लागि घरदेखि घाटसम्म पुर्याउँदा कपडामा नै लाखभन्दा बढी रुपैयाँ खर्च हुने बताइएको छ ।

अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको ८५ वर्षीय कर्णबहादुर रावलले बताए । इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन साहुसँग ऋण काढेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको उनले जनाए ।

कर्णाली र गण्डकी प्रदेशका विभिन्न स्थानमा प्रचलन रहेको ‘बाट’ परम्परालाई गण्डकी प्रदेशतिर भने यसलाई ‘बाटो’ पनि भनिन्छ । मृत्यु जस्तो अत्यन्त संवेदनशील कुरामा जोडिएको यो संस्कार अहिले देखासिकी र अस्वस्थ प्रतिस्पर्धा पनि बन्न थालेको छ । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह संस्कार जोगाउनभन्दा पनि देखासिकीकै लागि थानका थान कपडाको प्रयोग गर्ने चलनले गर्दा विपन्नलाई समस्या हुने गरेको बताउँछन् । यस्तो चलनलाई निरुत्साहित गर्न सबैले पहल गर्नुपर्ने सुझाव उनले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार