गठबन्धनको बैठक निष्कर्षविहीन, एमसीसी भोलि पनि टेबल नहुने

दलहरु आ-आफ्नै अडानमा

एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोली १० बजे फेरि बस्नेगरी बैठक सकिएको बताए ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । तर बैठकले भोलि पनि एमसीसी संसदमा टेबल नगर्ने निर्णय गरेको छ ।

‘बैठक सकिएको छ । एमसिसी भोलि पनि टेबल नगर्ने सहमति भएको छ’, बैठकमा सहभागी एक नेताले भने, ‘हामीले अझै छलफल गरौं, अध्ययन गरौं, बाटो खोजौं । गठबन्धन भरसक नटुटाऊँ भन्ने छ ।’

संसद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो । बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको कोसिस गर्ने भन्दै शुक्रबार बिहान १० बजेका लागि बैठक तय भएको हो । शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार