सत्तागठबन्धनको औचित्य छैन : एमाले नेता थापा

काठमाडौं । नेकपा एमालेका नेता लीलबहादुर थापाले वर्तमान सत्तागठबन्धनको औचित्य नरहेको बताएका छन् । बाग्लुङ काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा नेता थापाले सत्ता गठबन्धन सम्पूर्णरुपमा असफल भइसकेको भन्दै औचित्य नरहेको बताएका हुन् । सरकारले एमसीसीको विषयमा साझा धारणा बनाउन नसकेपछि गठबन्धनको हैसियत छर्लङ्ग भएको उनको भनाई छ ।

‘यो गठबन्धन सम्पूर्ण रूपमा असफल भइसकेको छ । यसको औचित्य छैन । मुलुकलाई गम्भीर सङ्कटमा धकेल्न तर्फ गठबन्धन लागेको छ ।’ उनले भने एमसीसीको बारेमा ठोस निर्णय गर्न नसक्नुले गठबन्धनको हैसियत छर्लङ्ग भयो ।’

एमसीसीको बारेमा कतिपय दलले नक्कली राष्ट्रवाद देखाउने गरेको उनको आरोप छ । एमसीसी जस्ता सम्झौताहरू धेरै भएको त्यसमा कसैको पनि ध्यान जान नसकेको उनले बताए । गठबन्धन सरकार नै कतिपय असमान सन्धीसम्झौताको विषयमा अझै पनि मौन बसेको नेता थापाको भनाई छ । उनले अन्य सन्धीसम्झौतामा मौन बसेर एमसीसीको मात्र चर्चा गर्नुमा कुनै अर्थ नभएको बताए ।

यस्तै नेता थापाले आन्तरिक रूपमा राष्ट्रवाद बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । लोकप्रिय नारामा मात्रै राष्ट्रवाद देखिने गरेको भन्दै व्यवहारमा राष्ट्रवाद लागु हुनुपर्ने उनले बताए ।

यस भन्दा पहिले नेता थापाले गठबन्धन सरकार गठनको आधार नै गलत भएको बताउँदै आएका थिए । उनले कुनै कुनै पक्षी अरूको प्वाँख राखेर केही समयका लागि राम्रो देखिने गरेको तर बिस्तारै प्वाँख झर्न थालेपछि उसको असली रुप बाहिर आउने किस्सा सुनाए । गठबन्धनको सवालमा पनि त्यही कुरा लागु हुने उनको भनाई । अहिले गठबन्धनको असली अनुहार देखिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार